पुलिसले आर्मीलाई जितका लागि तीन सय पाँच रनको लक्ष्य दियो

-



     सफल आवाज    
     कार्तिक २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरी क्लबले त्रिभुवन आर्मी क्लबलाई जितको लागि तीन सय पाँच रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ५० ओभरमा चार विकेट गुमाएर तीन सय चार रनको योगफल बनायो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ खेले । उनले एक सय ४० रनको योगदान दिए ।

यसैगरी आरिफ शेखले अविजित रहँदै ९१ रनको योगदान गरे भने करण केसी आठ रनमा अविजित रहे । त्यस्तै कुशल भुर्तेलले ३१, सुनिल धमलाले १३ तथा अमित श्रेष्ठले १० रन जोडे । बलिङतर्फ आर्मीका विक्रम सोबले तीन विकेट लिए भने सुशन भारीले एक विकेट झारे । यस खेलको विजेताले फाइनलयात्रा तय गर्नेछन् ।

हिजो भएको पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले मधेस प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको छ । प्रतियोगिताको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पाउने छन् । फाइनल खेल भोलि हुनेछ ।