आजबाट विश्वकप फुटबल सुरु, नेपाली समय अनुसार राति पौने १० बजे उद्घाटन खेल हुने

-



     सफल आवाज    
     मंसिर ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ मंसिर । फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । २२ औँ संस्करणको यो प्रतियोगितामा विश्वभरबाट छानिएका ३२ राष्ट्रले प्रतिपस्र्धा गर्दैछन् । प्रत्यक समूहमा ४ वटा देश रहेका छन् भने ८ समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहका शिर्ष दुई टोलि नकआउट चरणमा पुग्नेछन् । उद्घाटन खेल नेपाली समय अनुसार आइतबार राति पौने १० बजे सुरु हुनेछ । जसमा आयोजक कतार र इक्वेडर भिड्ने छन् । विश्व कपका खेलहरु कतारका ८ वटा रङ्गशालामा हुनेछन् । समूह ‘ए’ मा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा इङ्ल्यान्ड, इरान, अमेरिका र वेल्स, समूह ‘सी’ मा अर्जेन्टिना, साउदी अरब, मेक्सिको र पोल्यान्ड र समूह ‘डी’ मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिया रहेका छन् ।

यस्तै, समूह ‘ई’ मा स्पेन, कोस्टारिका, जर्मनी र जापान, समूह ‘एफ’ मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया, समूह ‘जी’ मा ब्राजिल, सर्बिया, स्वीट्जरल्यान्ड र क्यामरुन तथा समूह ‘एच’मा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया रहेका छन् । फाइनल खेल पुस ३ गते हुनेछ । विश्व कप फुटबल आयोजना गर्ने कतार पहिलो खाडी देश हो भने एशियामा प्रतियोगिता आयोजना गरिएको यो दोस्रो अवसर हो । यस अघि २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरेका थिए ।

सन् १९३० देखि सुरु भएको विश्व कपमा अहिलेसम्म ८ वटा देशले मात्रै उपाधि जितेका छन् । जसमा सबैभन्दा सफल टोली ब्राजिल हो । ब्राजिलले पाँच पटक विश्व कपको उपाधि जितेको छ । यस्तै, इटली र जर्मनीले चार/चार पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई/दुई पटक तथा इङ्ल्यान्ड र स्पेनले एक/एक पटक उपाधि जितेका छन् ।