१३औं नेसनल प्याब्सन खेलकुद मंसिर २० देखी पोखरामा हुने

-



     सफल आवाज    
     मंसिर १० गते २०७९ मा प्रकाशित



पोखरा, १० मंसिर । पोखरामा १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव आयोजना हुने भएको छ ।

राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन कास्कीको आयोजनामा मंसिर २० देखि २३ गतेसम्म पोखरा रंगशालामा खेलकुद प्रतियोगिता हुने भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगिता अन्तर्गत सेभेन ए साइड फुटबल, भलिबल, बास्केटबल, व्याडमिन्टन, टेवल टेनिस, लङ्गजम्प, हाइजम्प तथा एथ्लेटिक्स विधाका खेलहरु समावेश गरिएको छ । प्रतियोगितामा आधारभूतदेखि मावि तहका ४६ विद्यालयका ७ हजार खेलाडीहरुले प्रतिस्पर्धा गर्ने नेसनल प्याबसन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेल अपरिहार्य रहेकाले संस्थाले आफ्नो स्थापनाकालदेखि नै प्रतियोगिता आयोजना गर्दै आइरहेको उनको भनाइ छ । अनौपचारिक खेलहरु भने मंसिर १८ देखि नै सुरु हुने छन् । प्रतियोगिता पोखरा रंगशालामा सञ्चालन हुने छ ।

प्रतियोगितालाई व्यवस्थित ढंगले सञ्चालन गर्न अध्यक्ष अधिकारीको संयोजकत्वमा मूल समिति तथा विभिन्न १५ वटा उपसमिति गठन गरिएको सचिव मनकाजी गुरुङले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न २० देखि २५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले गर्ने छन् ।