प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव गुरुङको बिदाई

-



     सफल आवाज    
     मंसिर १२ गते २०७९ मा प्रकाशित



पोखरा, १२ मंसिर । प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङलाई बिदाई गरेको छ । गण्डकी प्रदेश सरकारले खेलकुद विकासका लागि गठन गरेको परिषदमा गुरुङले सदस्य सचिव पदमा रहेर करिब १८ महिना नेतृत्व सम्हाल्दै गत असोज २५ गते उमेर हदका कारण अवकाश पाएका थिए ।

परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको प्रमुख आतिथ्यमा भएको बिदाई कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले सदस्य सचिवको उत्कृष्ट नेतृत्वका कारण नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले उत्कृष्टता हासिल गर्न सफल भएको बताए ।

कार्यक्रममा संस्थापक सदस्य सचिव गुरुङले सबैको सहयोग र सदभावका कारणले नै नवौं राष्ट्रिय खेलकुदमा २९ वर्षपछि उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको बताउँदै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरे ।

उनले खेलकुदको विकासका लागि समाजका हरेक पक्षहरुलाई जोडेर अघि बढेमा मात्रै खेलकुद सफल हुन सक्ने बताउँदै हरेक नागरिकलाई खेलकुदमा आकर्षण गर्न र खेलुकदबाटै परिवर्तन सम्भव छ भन्ने कुरा बुझाउन आवश्यक रहेको औंल्याए ।

प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङले संस्थापक सदस्य सचिवको अथक मेहनत र योजनाबद्ध कार्यक्रमले नै स्थापनाको छोटो अवधिमा नै परिषदले सफलताका साथ आफ्ना योजनाहरु अघि बढाएको बताए । उनको सामीप्यले खेलकुदमा उत्साह जागेको बताउँदै संस्थापक सदस्य सचिव गुरुङका योजनाहरु कार्यान्वयन गरे परिषदले अझै उचाई प्राप्त गर्नेमा कुनै द्विविधा नरहेको उल्लेख गरे ।

परिषदका सल्लाहकार एवं अग्रज खेलाडी खड्ग बहादुर रानाभाटले सही व्यक्तिको नेतृत्व भएमा मात्रै संस्थाको विकास हुन सक्ने कुरा औंल्याउँदै संस्थापक सदस्य सचिव गुरुङले छोटो अवधिमा गरेको उत्कृष्ट योगदानलाई बिर्सन नहुने बताए ।

परिषदका सदस्य सचिव घनश्याम पौडेलको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा परिषदका कार्यकारी सदस्य, बोर्ड सदस्यहरु, सल्लाहकारहरु, कार्यालयका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।