कोरोनाबाट अर्का पत्रकार साईको मृत्यु

-



     सफल आवाज    
     जेठ २ गते २०७८ मा प्रकाशित



राझा, २ जेठ । नेपालगञ्जमा कार्यरत पत्रकार रईश साईको कोरोना सङ्क्रमणबाट शनिबार मृत्यु भएको छ ।

नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादक साईको शनिबार उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो।

नेपालगञ्ज निवासी स्व साईको शनिबार नै इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । साईको निधनप्रति नेपाल पत्रकार महासङ्घ बाँके, प्रेस चौतारी नेपाल बाँके, प्रेस युनियन बाँकेलगायतका पत्रकारका सङ्घसंस्थाले छुट्टाछुट्टै शोक सन्देश जारी गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित भावपूर्णा श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

दोस्रो भेरियन्टको कोरोना कहरबाट जोगिनका लागि पत्रकार महासङ्घ बाँके तथा पत्रकार निकट सङ्घसंस्थाले स्वास्थ्यको पूर्ण पालना गर्दै सञ्चार कर्म गर्न आग्रहसमेत गरेका छन् । वैशाख महिनामा मात्र बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण २ सय ४२ जनाको मृत्यु भएको छ । तीमध्ये १०१ महिला र १४१ पुरुष छन् ।

जिल्लामा करिब चार हजार सक्रिय सङ्क्रमितले विभिन्न संस्थागत तथा होम आइसोलेशनमा स्वास्थ्यलाभ गरिरहेका छन्।