एल निनोले पेरु र इक्वेडरमा बाढी

-



     सफल आवाज    
     मंसिर १२ गते २०८३ मा प्रकाशित



पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका विभिन्न सहर बाढीको चपेटामा परेका छन् । बाढीले पेरुमा हजारौँ परिवार प्रभावित भएका छन् भने इक्वेडरमा ३४ जनाको मृत्यु भएको र ४७ हजार जना प्रभावित भएको अधिकारीहरूले जनाएका छन् ।

उत्तरी पेरुको पिउरा सहरमा बिहीबारदेखि लगातार १२ घण्टासम्म परेको भारी वर्षाले सडकमा कम्मरसम्म पानी जमेको छ । राष्ट्रिय नागरिक सुरक्षा संस्थानका प्रमुख लुइस भास्केजका अनुसार प्रारम्भिक विवरणमा वर्षाबाट करिब दुई हजार परिवार प्रभावित भएका छन् । पिउराको सान्ता मार्गारिटा क्षेत्रका बासिन्दा पियरे गाराविटोले एल निनोको प्रभावस्वरूप परेको यो पहिलो ठूलो वर्षाले आफ्नो घरका सामान नष्ट गरेको बताउनुभएको छ । उहाँका अनुसार छिमेकका अन्य बासिन्दाले पनि यस्तै क्षति बेहोर्नुपरेको छ ।

अर्का स्थानीय बासिन्दा सिजर पाचेरेले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी नगरेको भन्दै स्थानीय अधिकारीहरूको आलोचना गर्नुभएको छ । बाढीका कारण पेरुका राष्ट्रपति केइको फुजिमोरीले कोलम्बिया भ्रमण स्थगित गर्नुभएको छ । उहाँले प्रभावित क्षेत्रको भ्रमण गर्ने योजना बनाउनुभएको छ । पिउरामा नर्सका रूपमा कार्यरत २६ वर्षीया येरान सेस्पेडेस मोरालेसले घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा रहेका वृद्धवृद्धा र बालबालिकाप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।