माझी, पहरी र भुजेल लगायत अतिसिमान्तकृत आदिवासीको पहिचान संकटमा

-



     सफल आवाज    
     मंसिर १२ गते २०८३ मा प्रकाशित



काभ्रेपलाञ्चोक, १२ मङ्सिर । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका माझी, पहरी र भुजेल समुदायका अगुवाहरूले अतिसिमान्तकृत आदिवासीको पहिचान संकटमा परेको र प्रथाजन्य भूमि असुरक्षित बन्दै गएको बताएका छन् ।

इन्डिजिनियस टेलिभिजन र आइटिभी नेपालले संयुक्त रूपमा भुम्लु गाउँपालिका–६, कोँलातीमा आयोजना गरेको सिमान्तकृत आदिवासी महिलासँगको अन्तरक्रियात्मक कार्यक्रममा सहभागी समुदायका प्रतिनिधि तथा अगुवाहरूले यस्तो धारणा राखेका हुन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘निरन्तर बहस’का लागि आयोजित संवादमा सहभागी वक्ताहरूले माझी, पहरी र भुजेल समुदायको भाषाका वक्ता घट्दै गएको, संस्कृति तथा परम्पराको संरक्षण हुन नसकेको र सांस्कृतिक सम्पदास्थलमाथि अतिक्रमण भएको गुनासो गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष तथा नेपाल माझी उत्थान संघकी अध्यक्ष चिनीमाया माझीले अतिसिमान्तकृत आदिवासीको हितका लागि स्थानीय सरकारको पहल सकारात्मक भए पनि परम्परागत सीप, ज्ञान र भाषा संरक्षणमा पर्याप्त ध्यान नपुगेको बताउनुभयो । सुनकोशी नदी किनारका क्षेत्र माझी समुदायको प्रथाजन्य भूमि रहेको उल्लेख गर्दै उहाँले ती भूक्षेत्रमा कुनै पनि कार्यक्रम सञ्चालन गर्दा समुदायको स्वतन्त्र, पूर्वसुसूचित सहमति (एफपीक) आवश्यक पर्नेमा जोड दिनुभयो ।

भुम्लु गाउँपालिका–६ मा आधुनिक पोखरी निर्माण गर्दा माझी समुदायको परम्परागत पूजास्थल तथा आस्थाको केन्द्र अतिक्रमण भएको भन्दै नेपाल माझी महिला उत्थान संघकी कोषाध्यक्ष सावित्री माझी र अध्यक्ष चिनीमाया माझीले आपत्ति जनाउनुभएको थियो । उहाँहरूले उक्त कार्य सच्याउन स्थानीय सरकारसँग आग्रह गर्नुभयो । यद्यपि, कार्यक्रममा उपस्थित वडा नम्बर ५ का अध्यक्ष भरतबहादुर शिवभक्तिले भने सावित्री माझीकै उपस्थिति र समुदायको सहमतिमै पोखरी निर्माणको निर्णय भएको दाबी गर्नुभएको थियो, जसको सावित्री माझीले प्रतिवाद गर्नुभयो ।

यस्तै, नेपाल पहरी विकास संघकी कोषाध्यक्ष रिता पहरीले पहरी समुदायको भाषा लोप हुँदै गएको र बेतबाँसका सामग्री बनाउने परम्परागत सीप व्यावसायिक बन्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । अर्की सहभागी मिठू पहरीले स्थानीय सरकारले महिला लक्षित कार्यक्रमका नाममा साबुन बनाउने जस्ता तालिम मात्र नदिई प्रथा, परम्परा र पहिचान संरक्षणसँगै जीविकोपार्जनमा टेवा पुग्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सहभागीहरूका जिज्ञासाको जवाफ दिँदै भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले समुदायमा जागरण र चेतना अभिवृद्धि भएमा मात्रै पहिचानको संरक्षण सम्भव हुने बताउनुभयो । गाउँपालिकाले २०८० साल पुस २६ गते ‘भुम्लु गाउँपालिका आदिवासी जनजाति विकास प्रतिष्ठान ऐन’ जारी गरी भाषा, धर्म र संस्कृति संरक्षणको पहल थाले पनि समुदायको तत्परताको अभावमा कार्यान्वयनमा चुनौती आएको उहाँको भनाइ थियो । ऐनको मर्मअनुसार समुदायले आफैँ योजना बनाएर कार्यान्वयन गर्ने गरी बजेट व्यवस्था गरिएको र चालु आर्थिक वर्षमा पनि जातीय संस्थाहरूलाई कार्यक्रम प्रस्ताव गर्न आग्रह गरिएको अध्यक्ष भुजेलले जानकारी दिनुभयो ।

स्थानीय श्रीकृष्ण पहरीलगायतको पहल तथा इन्डिजिनियस टेलिभिजनका प्रमुख कार्यकारी कार्यक्रम निर्देशक कुमार यात्रुको सञ्चालनमा सम्पन्न कार्यक्रममा टेलिभिजनका अध्यक्ष देवकुमार सुनुवारको समेत उपस्थिति थियो । आदिवासी जनजातिका प्रथा, परम्परा र अधिकारका सवालमा केन्द्रित ‘निरन्तर बहस’ कार्यक्रम इन्डिजिनियस टेलिभिजन र आइटिभी नेपालबाट हरेक साता प्रसारण हुँदै आएको छ ।