
ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न लागेको छ ।
उक्त अस्पताल र भारतको मेदान्ता–गुरुग्रामबीच चिकित्सकीय सहकार्यको एक वर्ष पूरा भएको अवसरमा आज यहाँ आयोजित ‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोलाबरेसन’ मा उपचारका नविनतम पद्धति र प्रविधिका बारे भएको समीक्षामा सो जानकारी दिइएको हो ।
कार्यक्रममा भारतको मेदान्ता ग्रुप अफ हस्पिटलका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा नरेश त्रेहानले किस्ट अस्पतालमार्फत मुटु र छातीसम्बन्धी शल्य चिकित्साका आधुनिक प्रविधि, उपचार पद्धति र पछिल्ला उपलब्धिबारे ज्ञान, सीप तथा अनुभव आदानप्रदान गरिने जानकारी दिनुभयो ।
स्वास्थ्य सेवामा कृत्रिम बौद्धिकता (एआई) र आधुनिक प्रविधिको प्रयोगले उपचार पद्धतिमा महत्वपूर्ण परिवर्तन ल्याएको जनाउँदै उहाँले एआई चिकित्सकको विकल्प नभई रोग पहिचान, उपचार योजना, शल्यक्रियाको तयारी र उपचार प्रक्रियालाई प्रभावकारी बनाउने महत्वपूर्ण औजार भएको उल्लेख गर्नुभयो ।
त्यस अवसरमा मेदान्ता इन्स्टिच्युट अफ चेस्ट सर्जरीका अध्यक्ष डा अरविन्द कुमारले छाती शल्य चिकित्सासम्बन्धी आधुनिक प्रविधि र उपचार पद्धतिबारे प्रस्तुति दिनुभयो । किस्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा अभिषेक थापाले मेदान्तासँगको सहकार्यले नेपालको स्वास्थ्य सेवालाई थप गुणस्तरीय, आधुनिक र प्रविधिमैत्री बनाउन सहयोग पुगेको जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्पतालले पहिलो बाल कलेजो प्रत्यारोपण गर्न सफल भएको छ । अस्पतालले आगामी दिनमा मेदान्ताको प्राविधिक तथा शैक्षिक सहयोगमा मुटु–फोक्सो प्रत्यारोपणको सेवा विस्तार गर्न लागेको जानकारी दिइयो ।
दुवै अस्पतालबीच स्वास्थ्य सेवाका क्षेत्रमा हुने सहकार्यले जटिल स्वास्थ्य समस्याको उपचारका लागि विशेषज्ञ परामर्श लिन भारत जानुपर्ने बाध्यता, समय र खर्च न्यूनीकरणमा सहयोग पुग्ने अस्पतालको भनाइ छ ।






बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका…
काभ्रेपलाञ्चोक, १२ मङ्सिर । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका माझी, पहरी र भुजेल समुदायका अगुवाहरूले अतिसिमान्तकृत आदिवासीको… 



