पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको निधन

-



     सफल आवाज    
     जेठ १३ गते २०७८ मा प्रकाशित



पोखरा, १३ जेठ । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्यको निधन भएको छ । कोरोना संक्रमणका कारण २० दिनदेखि उपचाररत ६२ वर्षीय कर्माचार्यको बिहीबार बिहान काठमाडौंमा निधन भएको हो ।

कोरोना संक्रमणपछि निमोनियाले ग्रस्त कर्माचार्यलाई ३ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।

पोखराको सामाजिक सेवामा ठूलो योगदान पुर्‍याएका कर्माचार्यले पोखराको सबैभन्दा जेठो संस्था पोखरा उद्योग वाणिज्य संघमा १२ वर्ष कार्यसमितिमै रहेर सेवा गरेका थिए । उनी २ कार्यकाल महासचिव बन्दै १० वर्षअघि अध्यक्षमा निर्वाचित भएका थिए । साथै लायन्स क्लबमा पनि उतिकै सक्रिय थिए ।

कामकै सिलसिलामा काठमाडौं रहेका उनलाई त्यहाँ कोरोना पुष्टि भएपछि पोखरा आउन पाएका थिएनन् । उनको परिवारका सदस्यहरुलाई पनि कोरोना देखिएकोमा अरु भने कोरोनामुक्त रहेको परिवारजनले जनाएको छ ।

तत्कालीन हिमचुली विकास बैंकका अध्यक्ष उनी हाल लुम्बिनी इन्स्युरेन्सका संचालक थिए । उनको बाबुवाजेले पोखरामा कपडा व्यवसाय थालेका थिए । स्व. कर्माचार्यको नेपाली सेनाले काठमाडौंमै अन्येष्टि गर्ने भएको छ ।