
पोखरा, १५ जेठ । पाेखरा महानगरले लायन्सको सहकार्यमा १० दिनमै सुविधासम्पन्न १०० बेड क्षमताको अस्पताल निर्माण गरेको छ । साविक लेखनाथ नगरपालिकाको कार्यालय रहेको भवनमा शिशुवा अस्पताल, कोभिड उपचार केन्द्र नाममा निर्माण गरिएको हो ।
हाल आवश्यक सुविधासहित ५० बेड तयार भैसकेका छन् । चाँडै नै अन्य बेड पनि बिस्तार हुने जनाइएको छ । सो अस्पतालको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रारम्भिक उद्घाटन गरे । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको दोस्रो लहरले पोखरा पनि आक्रान्त बन्याे । दोस्रो भेरियन्टको कोरोना पुष्टिसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधा दर्जन जिल्लामध्ये कास्कीलाई यस वर्ष सुरुआतमै उच्च जोखिम जिल्लामा वर्गीकरण गरेको हो । वैशाख मध्यदेखि नै जिल्लामा कोरोना संक्रमितको संख्या ह्वारह्वार्ती बढ्यो ।
मृत्युदर पनि स्वतः बढ्न पुग्यो । कोरोना महामारी न्यूनीकरणमा जिल्ला प्रशासनले अघिल्लो महिना सुरु गरेको निषेधाज्ञा कायमै रहँदासमेत संक्रमण दर नघट्ने र अस्पतालका बेड भरिन थालेपछि महानगरले अस्पताल निर्माणकाे योजना बनायो । १५ बेड क्षमता शिशुवा अस्पताल प्राइमरी लेवलको रुपमा सञ्चालित थियाे । पोखराका मेयर मानबहादुर जिसी भन्छन्, ‘ईच्छाशक्ति र मेहनत भए छोटो समयमै पनि काम गर्न सकिँदो रहेछ भन्ने लागेको छ । हामीहरु आगामी दिनमा सुविधासम्पन्न बनाउँदै यसलाइ शिक्षण अस्पतालको रुपमा विकास गर्नेछौं ।’
पाेखरा महानगर र लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक ३२५ बि १ को संयुक्त सहकार्यमा २ करोड रुपैयाँ लागतमा अस्पताल बनेको बताइएकाे छ । अस्पतालमा ५० बेडसहित सोसँग सम्बन्धित आवश्यक सामग्री लायन्सले उपलब्ध गराएको छ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बि १ का मनाेनित काे- चिफ एड्भाइजर एवं अस्पताल निर्माण सहयाेग संकलन समितिका संयोजक मोहनबाबु खड्काका अनुसार ‘लायन्सले ५० बेडसहित हाई फ्लो अक्सिजन मेसिन, सर्जिकल सामग्री, दराज, म्याट्रेस, औषधी, अक्सिजन कन्सन्ट्रेटर, सोलार, पर्दा लगायत सामग्री सहयोग गरेको छ ।’


अस्पतालको हाल ५० बेडमै अक्सिजन आपूर्ति हुने गरी पाइप जडान गरिएको छ भने २० अक्सिजन कन्सन्ट्रेटर मेसिन छन् । ‘महामारीको बेलामा केही गर्नुपर्छ भन्ने सोचका साथ महानगरको योजनामा लायन्सले आर्थिक संकलन अभियानकाे जिम्मा लियो । धेरै जनाले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु भयो,’ संयाेजक खड्काले भने । अस्पताल बनाउन लायन्सका गण्डकी क्षेत्रका विभिन्न लायन्स क्लबहरुलगायत धेरै ब्यक्ती र संस्थाकाे सहयाेग छ। अस्पतालमा भौतिक पूर्वाधार निर्माणमा भने महानगरले रकम खर्चेको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बताए।

सो क्षेत्रमा यसअघि पोखरा महानगरपालिका वडा २७ को कार्यालय थियो । वडा कार्यालय अन्यत्र भाडाको घरमा सारेर अस्पतालको स्वरुप दिइएको हो । कोरोना महामारीको बेला अस्पतालमा बेड पाउन नसक्नु र पाए पनि अक्सिजन नपाउने गरेको समाचार आइरहँदा घरछेउमै अस्पताल निर्माणपछि स्थानीय पनि खुसी देखिन्छन् । घनाबस्ती रहेको पोखरा कोरोनाको ‘हटस्पट’ हाे। कास्कीमा हालसम्म कोरोना संक्रमितको संख्या १८ हजार नाघेकोमा सक्रिय संक्रमित ३ हजार बढी छन् । जिल्लामा २ सय ८६ को कोभिड–१९ कै कारण ज्यान गइसकेको छ ।
पोखरा महानगरले कोरोनाको बेलामा मात्र नभइ महामारी हटिसकेपछि पनि भविष्यमा अन्य बिरामीको उपचार हुने गरी अस्पतालाई निरन्तरता दिँदै जाने बताइसकेको छ । महानगर स्थापनाको ४ वर्ष पूरा भएको अवसरमा शुक्रबार उद्घाटन भएकोमा तत्काल अस्पताल सञ्चालन गरिहाल्ने र आगामी दिनमा आइसियु, भेन्टिलेटरसमेत जोड्ने महानगरको योजना छ ।

शिशुवा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट प्रतिभा कोइरालाका अनुसार अस्पतालमा २ मेडिकल अफिसर, ४ नर्सिङ स्टाफ लगायत हुनेछन् । महानगरले दरखास्त आह्वान गरी केही कर्मचारी भर्ना गरिसकेको छ । अस्पताल सञ्चालनका लागि महानगरबाट तथा शिशुवा अस्पतालबाटै आलोपालो गरी प्रत्येक सिफ्टमा कर्मचारी खटिने व्यवस्था मिलाइएको छ । चीनको वुहानबाट सन २०१९ काे अन्त्यतिर फैलिएको कोरोना भाइरसको महामारीले विश्व आक्रान्त बन्दा गतवर्ष नै चीनले १ हजार बेडको अस्पताल एकै सातामा बनाएर विश्व चकित पारेको थियो ।
अस्पताल उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरूङ, प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बाेलेका थिए।






ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



