सुकेटार विमानस्थलको नाम फेर्ने घोषणामा योगेश भट्टराईको आपत्ति

-



     सफल आवाज    
     जेठ १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ जेठ । सुकेटार विमानस्थलको नाम फेर्ने सरकारको घोषणाप्रति योगेश भट्टराईले आपत्ति जनाएका छन् ।

शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम फेर्ने घोषणा गरेपछि योगेश भट्टराईले आपत्ति जनाएका हुन् ।

सरकारले ताप्लेजुङको सुकेटार र तेह्रथुमको चुहानडाँडा विमानस्थललाई रविन्द्र अधिकारीको नाममा परिवर्तन गर्ने घोषणा गरेपछि त्यसको विरोध भएको हो ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको सुकेटार हुँदै पाथिभरा दर्शन गरेर फर्कने क्रममा हेलिकोप्टर दुर्घटना हुँदा निधन भएको थियो ।

हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि भट्टराईले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका थिए । उनी ताप्लेजुङका जनप्रतिनिधि हुन् ।

भट्टराईले ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानको परिचय बदल्नु भन्दा अघि त्यसको आवश्यकता, औचित्य, सान्दर्भिकता र परिणामबारे छलफल गर्नुपर्नेमा जोड दिएका छन् ।

‘ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्य, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्दछ’, भट्टराईले फेसबुकमा लेखेका छन्, ‘यसरीमात्र सहभागीतामुलक लोकतन्त्र बलियो हुनसक्छ ।’