डेरी उद्योगमा नगरपालिकाको अनुगमन, दुग्ध प्रडक्टमा लेबल राखेर मात्र बिक्री गर्न निर्देशन

-



     सफल आवाज    
     जेठ १८ गते २०७८ मा प्रकाशित



भक्तपुर, १८ जेठ । भक्तपुर नगरपालिकाले जिल्लाभित्रका डेरी उद्योगमा आज अनुगमन गरेको छ । दूध वितरकहरू कोरोना पोजिटिभ भएर पनि दुध वितरण गर्दै हिँडेको जनगुनासो आएकोेले डेरीमा अनुगमन गरेको नगरपालिका स्राेतले जनाएकाे छ । अनुगमनमा शिवम् डेरी प्रालिमा दूधमा मिसाउने दूधको पाउडरमा अखाध्य बस्तु भेटिएकाे, बरफ बनाउने भाँडो र पानी ट्याङ्की पनि फाेहाेर भेटिएकाले सरसफाइमा ध्यान दिन र म्याद नाघेको कलर फूड, चोको पाउडर, जफत गरी नष्ट गरिएको बताइएकाे छ ।

कामदार र वितरकलाई पिसिआर परीक्षण गराई स्वस्थ्य व्यक्तिलाई मात्र काममा लगाउन, दहीमा लेबल नभएकोले लेबल राखेर मात्र बिक्री वितरण गर्न र नगरपालिकामा तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

त्यस्तै भक्तपुर डेरी प्रालिमा कामदार र वितरकलाई पिसिआर परीक्षण गराउन, सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ । सञ्जीवनी डेरी उद्योगमा कामदार र वितरकलाई पिसिआर परीक्षण गराउन र दहीको बट्टामा लेबल राख्न निर्देशन दिएको छ । जगदम्बा डेरी एण्ड वेभरेज प्रालिमा कामदार र वितरकको पिसिआर परीक्षण गराउन, दर्ता प्रमाणपत्रसहित तीन दिनभित्र नगरपालिकामा आउन निर्देशन दिएको छ ।