दरबार हत्याकाण्डको २० वर्ष : अझै घटना रहस्यमय

-



     सफल आवाज    
     जेठ १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ जेठ । नेपालमा राजपरिवारको हत्या भएको २० वर्ष पुगेको छ। २०५८ जेठ १९ गते शुक्रबार राति भएको नारायणहिटी हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको थियो।

नारायणहिटी दरबारको त्रिभुवन सदनको विलियार्ड बैठकमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धिरेन्द्र, वीरेन्द्रकी बहिनी राजकुमारी जयन्ती, शान्ति र शारदासहितको ज्यान गएको थियो।

यो घटना भएको २० वर्षसम्म पनि रहस्यमय नै छ। राजतन्त्रको अन्त्य भएर गणतन्त्रको घोषणापछि पनि यसको ठोस अनुसन्धान हुन सकेको छैन।

हत्याकाण्ड लगत्तै तत्कालिन सभामुख तारानाथ रानाभाटको अध्यक्षतामा बनेको छानविन समितिले योजनाकारको रुपमा तत्कालीन युवराज दिपेन्द्रलाई दोषी बनाएपनि त्यसको विश्वासिलो आधार सार्वजनिक गर्न सकेको थिएन।

प्रतिवेदनमा राप्रपा नेता पशुपतिशमशेर राणाकी छोरी देवयानीसँगको प्रेम प्रसंगका कारण दीपेन्द्रले हत्याकाण्ड मच्चाएको उल्लेख थियो।

वीरेन्द्रको वंश नास नै सयौं वर्षदेखि रहेको राजसंस्थाको अन्त्यको कारण बनेको मानिन्छ। दरबार हत्याकाण्ड भएको ७ वर्षपछि नेपालको राजतन्त्र इतिहास बनेको छ। २०६५ जेठ १५ गते देशमा राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको थियो।

राजतन्त्रको समाप्तीपछि यति ठूलो हत्याकाण्डको निष्पक्ष अनुसन्धान हुने विश्वास गरिएको भएपनि त्यो आजसम्म हुन सकेको छैन।