कालोबजारी गर्ने ३७ जना पक्राउ

-



     सफल आवाज    
     जेठ १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ जेठ । अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सोमिटर, मास्क, पञ्जा, रेम्डिसिभिर लगायतका स्वास्थ्य सामग्रीका साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई प्रहरीले पक्राउ गरी कारवाही गरेको छ।

पछिल्लो एक महिनामा उनीहरुलाई विभिन्न जिल्लाबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमणको समयमा त्यसको फाइदा उठाउँदै उनीहरुले कालोबजारी गरेकाले कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान मुद्धा चलाइएको प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।

पक्राउ परेका मध्ये १२ अक्सोमिटर, ८ पिसिआर परीक्षणको नक्कली प्रतिवेदन बनाउने, ४ जना ह्यान्ड स्यानिटाइजर कालोबजारी गर्ने, ३ जना अक्सिजन सिलिन्डर कालोबजारी गर्ने
तथा ५ जना प्रहरीमाथि अभद्र व्यवहार गर्नेलगायत रहेका छन् ।

उनीहरुबाट १३ हजार ७ सय ५६ लिटर स्यानिटाइजर तथा करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर, ५५ वटा अक्सोमिटर तथा ७६५ वटा नक्कली अक्सोमिटर, छ हजार ६०० लिटर इथानोल रसायन, विभिन्न स्टिकर, ४६ वटा कार्टुन विभिन्न औषधिलगात बरामद गरिएको छ ।

सो अवधिमा काठमाडौं, रामेछाप, काभ्रेपलान्चोक, बारा, महोत्तरी, खोटाङ, बर्दिया लगायतका जिल्लाहरूमा सवारी साधन दुरुपयोग गरी बढी भाडा लिएर यात्रु बोक्ने सवारी साधनहरूलाई कारबाही गरिएको छ ।

देशमा शान्ति सुरक्षा कायम राख्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने लगायतका नियमित कामको साथै कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रण गर्ने, निषेधाज्ञा पालना गराउने एवं विषम परिस्थितिको फाइदा उठाउँदै हुने गरेको कालोबजारी नियन्त्रणमा समेत नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ।