पाेखरामा डुंगा चालकलाई राहत

-



     सफल आवाज    
     जेठ २१ गते २०७८ मा प्रकाशित



पाेखरा, २१ जेठ । फेवातालमा डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आइरहेका डुङ्गा चालकहरुलाई रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेबान) पोखरा र आर्ट अफ लिभिङले राहत सामग्री वितरण गरेको छ।

कोरोना सङ्क्रमणको कारण जारी निषेधाज्ञाले पेशा सङ्कटमा परेपछि बिहान बेलुकाको छाक टार्नका लागि समस्यामा परेका चालकलाई राहत वितरण गरिएको रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए।

बरालका अनुसार डुङ्गा व्यवसायी समितिका समन्वयमा आर्थिक अवस्था कमजोर भएकाहरुको पहिचान गरी शुक्रबार ८५ जनालाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको हो । थप समस्यामा परेका ३२ जनाको पनि नाम आएकाले उनीहरुलाई शनिबार बिहान वितरण गरिने बरालले जानकारी दिए।

आर्ट अफ लिभिङ गण्डकी प्रदेशका प्रमुख एवम् पर्यटन व्यवसायी नरेश भट्टराईले एक परिवारलाई २५ सय बराबरको खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिए।

डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीका अनुसार फेवातालमा ७ सय ७५ जति डुङ्गा चालक छन् । तीमध्ये ४ सयले आफ्नै तथा बाँकीले अरुको डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आइरहेका छन्।