मुसहरलाई विपदमा धुर्मुस–सुन्तलीको साथ

-



     सफल आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित



महोत्तरी, २३ जेठ । कोभिड–१९ महाव्याधिले घरमै जकड्याएर राखेका बेला महोत्तरीको बर्दिबास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका मुसहरले धुर्मुस–सुन्तलीको साथ पाएका छन् ।

महाव्याधि छल्न जिल्लामा जारी निषेधाज्ञाबीच कतै काममा निस्कन नपाएर जकडिएका मुसहरलाई धुर्मुस सुन्तली फाउण्डेशनले खाद्यान्न राहत पुर्‍याएर दुःखमा साथ दिएको हो । शनिबार साँझ फाउण्डेशनका अध्यक्ष हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले ७० परिवार मुसहरलाई तत्कालको राहतका लागि खाद्यान्न वितरण गरे ।

दुःखकष्टले जीवन धानेका यस बस्तीका ५० परिवार मुसहर र अन्य समुदायका दुई परिवारले विसं २०७४ को नयाँ वर्षका दिन (वैशाख १ गते) खानेपानी धारा, बिजुली र शौचालय सुविधासहितको पक्कीघर धुर्मुस–सुन्तली फाउण्डेशनबाट पाएका थिए । त्यतिखेर ५० घरपरिवार रहेका मुसहर अहिले छुट्टिँदै गएर ७० परिवार बनेका छन् । फाउण्डेशनले निर्माण गरेको बस्तीभित्र दृश्यावलोकन स्तम्भ, बालउद्यान र मुसहरका कुलदेवता दिनाभद्रीको मन्दिरसहित बनेको छ ।

पहिलोपटक विसं २०७२ को हिउँदमा सरसफाइ दूत बनेर बर्दिबास पुग्नुभएका हास्य कलाकार धुर्मुस–सुन्तलीले पराले झुप्राको मुसहर बस्ती हेरेका थिए। पहिलो आगमनमै मुसहरसँग आत्मीय लगाव बढेपछि पटकपटक बस्ती पुगेर फाउण्डेशनले मुसहरमा सरसफाइ, शिक्षा र स्वास्थ्यबारे सचेतना बढाएको थियो ।

बर्दिबासका मुसहरको गरिबी, निर्दोषपन र अत्यन्त पछौटेपन देखेर द्रवित भएका धुर्मुस–सुन्तली दम्पतीले एकीकृत नमूना बस्ती बनाएर पक्की घरमा यिनीहरुलाई राख्ने सङ्कल्प गरे। यसैअनुसार विसं २०७३ माघमा निर्माण शुरु गरेर ९० दिनभित्रै मुसहरले पक्की घर पाएका थिए ।

धुर्मुस–सुन्तलीसँगको उठबसले बस्तीका मुसहरले नयाँ पक्की घरमात्र नभएर पक्की मन पनि पाएका बर्दिबास–१४ का वडाध्यक्ष भरत हमाल बताउँछन् । “पक्की घरमात्रको कुरा होइन, खाने, बस्ने संस्कार पनि मुसहरले पाएका छन्”, हमाल भन्न्छन्, “उज्यालो हुनासाथ खुर्पी (माटो खन्ने सानो औजार) लिएर मुसा खोज्न हिँड्ने मुसहर बालबालिका अब विद्यालय जान लागेका छन् ।”

बस्तीका बालबालिका विद्यालय जाने, बस्तीका बासिन्दा विभिन्न आयमूलक काममा लागेका र सामाजिक चासोबारे कुरा गर्ने बनेको देख्दा सन्तोष लाग्ने गरेको हास्य कलाकार धुर्मुसको भनाइ छ। बस्तीको सकारात्मक परिवर्तनले मन आह्लादित बनाउने गरेको धुर्मुसले बताए।