संसद् विघटन विरुद्धका १९ रिटको पेशी प्रधानन्यायाधीशको बेन्चमा

-



     सफल आवाज    
     जेठ १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ जेठ । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै दायर १९ रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल बेच्चमा हुने भएको छ। बिहीबार प्रधानन्यायाधीश जबराले १९ रिटको सुनुवाइका लागि आफ्नो एकल बेन्च तोकेका हुन्। प्रतिनिधिसभा विघटनविरुद्धमा अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा दायर भएका १९ रिटको सुनुवाइ बिहीबार हुन लागेको हो।

जेठ ८ गते संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवा र केपी ओलीले प्रधानमन्त्रीका लागि पेश गरेको दाबीमा प्रतिनिधिसभा सदस्यको हस्ताक्षर दोहोरिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकृत गरेपछि शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन भएको थियो।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नभएको भन्दै प्रतिनिधिसभा विघटन गरेर कात्तिक र मंसिरमा मध्यावधि चुनावको घोषणा गर्दै संसद विघटन गरेकी हुन्।

संसद् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा भएपछि विपक्षी दलसहित विभिन्न कानुन व्यवसायीले त्यसको विरोधमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता गरेका छन्। संवैधानिक इजलासमा सुनुवाइ हुनुपर्ने माग गरिएका अन्य ११ रिटको पेशी शुक्रबार (जेठ १४) का लागि पेशी तोकिएको छ।

महामारीबीच सरकारको सिफारिसमा राष्ट्रपतिले संविधान छल्दै प्रतिनिधि सभा भंग गरेर २०७८ कात्तिक र मंसिरमा मध्यावधि चुनावको मिति घोषणा गरेको भन्दै विपक्षी गठबन्धनका १४६ सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्। विपक्षी सांसदले रिटमा संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका छन्।

यसअघि २०७७ पुस ५ गते पहिलो पटक विघटन भएको संसद्‍लाई फागुन ११ गते सर्वोच्च अदालतले पुनस्र्थापना गरेको थियो। प्रधानमन्त्री ओलीले ६ महिनाको अवधिमै पुनः प्रतिनिधिसभा विघटन गरेको भन्दै विपक्षी दल न्याय खोज्दै अदालत पुगेका हुन्।