उज्ज्वल थापाको निधनमा विभिन्न दलद्वारा दुःख व्यक्त

-



     सफल आवाज    
     जेठ १८ गते २०७८ मा प्रकाशित



काठमाडौँ, १८ जेठ । विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनप्रति सर्वत्र दुःख व्यक्त गरिएको छ । दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो ४ः२५ बजे निधन भएको हो ।

विवेकशील साझा पार्टीले शोक विज्ञप्ति जारी गर्दै पूर्वसंयोजक थापाको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले थापाका स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्यतिथिमा प्रत्येक सदस्य र शुभचिन्तकलाई कम्तीमा एउटा वृक्षरोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यलाई आह्वान गरेको पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गरेका छन् ।

साँझ ट्वीट गदै प्रधानमन्त्री ओलीले दिवंगत थापाप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि फरक तरीकाबाट छोटो समयमै आफ्नो ‘राजनीतिक अभियान’प्रति धेरैको ध्यानाकर्षित गर्न सक्षम थापाको असामयिक निधनमा दुःख व्यक्त गरे ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थापाको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ पार्टी र आफ्ना व्यक्तिगत तर्फबाट शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

यस्तै, नेकपा (एमाले) ले थापाको निधनले नेपाली राजनीतिक क्षेत्रले लामो समय अभाव महसुस गर्ने बताएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङद्वारा जारी विज्ञप्तिमा थापाको राजनीतिक दर्शन नेपाली युवाका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उनी नेपालको राजनीतिक क्षितिजमा नयाँ आशा र दृष्टिकोणसहित उदाउँदै गरेको एक राजनीतिक र सामाजिक व्यक्तित्व भएको जनाइएको छ ।

उता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले फरक राजनीतिक संस्कृतिले नै उज्ज्वल थापालाई चिरस्थायी बनाइरहने बताएका छन् ।