राउटे युवतीमाथि दुर्व्यहारको आरोपमा ३ पक्राउ

-



     सफल आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित



वीरेन्द्रनगर, २३ जेठ । राउटे समुदायका युवतीलाई दुर्व्यहार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटेल सञ्चालकसहित ३ जना पक्राउ परेका छन् । राउटे युवतीलाई स्थानीय युवाले मादक पदार्थ सेवन गराई होटेलमा लिएर दुर्व्यहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुर्भाकोटका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटेल सञ्चालक विनोद पुन रहेको प्रहरीले जनाएको छ।

पछिल्लो समय राउटे समुदायमा जाने टिकटकमा भिडियो खिच्न थालेपछि राउटे युवती असुरक्षित भएका छन् । सामाजिक सञ्जाल युट्युब, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीमाथि दुर्व्यहार हुन थालेको छ।

भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाबाट राउटे युवती दुव्र्यवहारको सिकार भएका हुन् । राउटे युवतीहरुमाथि भएको दुर्व्यहारको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयवासीले तत्काल अनुसन्धान गरी कारबाहीको माग गरेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि लेकबेँसी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदायका व्यक्ति केही दिनअघि मात्रै गुर्भाकोट–११ आँपसोतीको भेरी नदी किनारमा बसाइँ सरेका छन् ।