ओलीको मन्त्रिपरिषद् बिस्तार तयारी

-



     सफल आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ जेठ । जनता समाजवादी पार्टी (जसपा) को एउटा पक्षलाई सरकारमा सहभागी गराएको केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । ८ मन्त्रालयमध्ये ७ वटामा मन्त्री नियुक्तिको तयारी गरेको बालुवाटार स्रोतले जनायाे ।

प्रधानमन्त्री आफैँले राखेका रक्षा बाहेकका मन्त्रालयमा मन्त्री नियुक्तिको छलफल भइरहेको स्रोतले बतायो । पूर्व माओवादी खेमाका नेताहरूले सम्हालेका र हाल बिदाइ भएका एमाले मन्त्रीहरूले सम्हालेका मन्त्रालय ओलीले राखेका छन् । उनीसँग गृह, सूचना तथा सञ्चार प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय छन् ।

पूर्वमन्त्री गोकुल बाँस्कोटा, महेश बस्नेत, खगराज अधिकारी, कर्ण थापा लगायत मन्त्री बन्ने सम्भावना रहेको एमाले स्रोतले बतायो । गृह र सञ्चार मन्त्रालयमा धेरै नेताको दाबी छ। विद्या भट्टराई, शान्ता चौधरी, राधा ज्ञवालीलगायत महिला नेतृहरू पनि मन्त्रीका लागि आकांक्षी देखिएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रवार जसपाका ८ मन्त्रीसहित एमालेका दुई मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

ओलीले गत शुक्रबार ३ उपप्रधानमन्त्री रहने गरी १७ सदस्यीय मन्त्रिमण्डल बिस्तार गरिसकेका छन्।